सुदूरपश्चिममा बाढी-पहिरोको वितण्डा : कहाँ-कहाँ भयो क्षती? (विवरण सहित)

काठमाडौं  ! सुदूरपश्चिमका एक छिन पनि नरोकिएर भैरहेको लगातार भारी बर्षाले जनजिवन प्रभावित भएको छ । मौसममा आएको एक्सासी परिर्वतनले सोमवार रातिदेखी परिरहेको बर्षाका कारण कैलाली सहित सुदूरपश्चिम भरको जनजिवन नराम्ररी प्रभावित भएको हो ।
बेमौसममा परिरहेको बर्षाले यस प्रदेशमा मानविय क्षति हुनुका साथै ठूलो भौतिक क्षति पुर्याएको छ । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिदा डोटी र डडेल्घुरामा ३ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । सोमबार राति डोटीको सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा घर भित्रै च्यापिएर २ जना मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा बिरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडा रहेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयबाट २ किलोमिटरको दुरीको रहेको उक्त स्थानमा उद्दारका लागि प्रहरी निरीक्षक किसन चन्दको कमाण्डको टोली खटिएको थियो । यसैगरि  डडेल्धुरामा पनि लगातारको बर्षा पछि गएको पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णुु अवस्थी रहेका प्रहरीले जनाएको छ । उनको पहिरोमा पुुरिएर सोमबार राति मृत्यु भएको हो । पहिरोमा परेर डडेल्धुरामै अन्य थप दुई जना घाइते भएका छन् । अमरगढी नगरपालिका–१ मा पहिरोमा परेर दुई जना घाइते भएको हुन् । उता बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् ।
जिल्लाको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा मंगलबार पहिरो जादा २३ जना बेपत्ता भएका हुन । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्की घरका ५ जना रहेका छन् । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाँउका स्थानिय विस्थापित भई त्रिभुवन मा वि महेन्द्रधारमा बसिरहेका छन् ।
गाँउ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको छन् ।  यस्तै सो गाँउभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाँउका ७ घर पुरिएका छन् । लगातारको बर्षाले ठाउँ ठाउँमा मानिसहरु फसेका छन् ।
लगातारको बर्षाका कारण कैलाली , कञ्चनपुर र बैतडीका विभिन्न स्थानमा स्थानियहरु फसेका हुन् । अहिले सम्म बैतडीका ६०, कञ्चनपुरका ५ र कैलालीका २ जना फसेका छन् ।
जो अहिले सम्म पनि उद्धारको प्रखाईमा रहेका छन् । महाकाली नदीमा आएको बाढीमा परेर सो ठाउँमा रहेको ५ जना टापुमा  हुन भने कैलाली र बैतडीमा पनि बाढीमा परेर ६२ जना फसेका हुन् । उनीहरुको उद्धार गर्नका लागि आएको हेलिकप्टर भने धनगढी विमानस्थलमै अवतरण गरेको छ । खराब मौसमका नदीमा फसेकाको उद्धार गर्न सकिएको छैन ।
भिजिविलिटी कम भएकोले उद्धारमा असहज भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताएका छन् । मौसम सुधार हुनासाथ उनीहरुको हेलिकप्टरबाट उद्धार गरिने उनले बताए । कर्णाली नदी अहिले बस्तीमा पसेको छ ।
लगातारको भारी बर्षाका कारण कर्णाली नदीमा आएको बाढी गाउँमा पसेको हो । पुलको पूर्व तिरको सल्याप भत्किएर नदी गाउँमा पसेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । कर्णाली नदीको बाढीले जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा स्थित रानीजमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको स्ल्याप भत्काएको प्रशासनले जनाएको छ ।
पूल भत्किँदा आवतजावत पूर्ण रुपमा बन्द भएको छ भने बस्तीमा पसेको नदीको पानीका कारण आसपासका अन्दाजी ५०÷६० घरहरु डुबानमा परेका छन् । गाउँमा पसेको बाढीले क्षति पुर्याउन सक्ने भन्दै दक्षिणका गाउँका मानिसलाई माइकिङ गरेर अहिले घर छोडन लगाइएको छ ।
यसैगरि लगातारका परिरहेको बर्षाले सुदूरपश्चिमका पहाडी जिल्लाको बिधुत सेवा पूर्ण रुपमा ठप्प भएको छ । लगातारको वर्षापछि सोमबार साँझ देखि डडेलधुरा, डोटी, बझाङ, अछाम , दार्चुला, बैतडी र बाजुराको बिधुत सेवा पूर्ण रुपमा ठप्प भएको हो । लगातारको बर्षाले किसानहरुले बिगाह खेतमा लगाएको धानबाली सबै नष्ट भएको छ ।
कतिपय किसानहरुको काटेर सुकाएको धानबाली बाढीले समेत बगाउँदा लाखौको नोक्सानी भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *