सप्तकोशीको बाढी प्रभावितलाई तत्काल सुरक्षित स्थानमा सार्नु : गृहमन्त्री खाँड

काठमाडौँ । सप्तकोशी नदीको बाढीबाट प्रभावितलाई तत्काल सुरक्षित स्थानमा सार्न गृहमन्त्री बालकृष्ण खााणले निर्देशन दिएका छन् ।

उदयपुरको बेलका नगरपालिकाका–१, २, ८ र ९ मा सप्तकोशी नदीमा पानीको बहाव बढेर कटान शुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका हुन् ।

सप्तकोशीको पानीको बहावले अहिले झण्डै ५० मिटरजति जमिन कटान गरिसकेकाले नजिकै रहेका बस्तीका बासिन्दालाई अन्यत्र सार्ने काम गृहमन्त्री खाँणको निर्देशनमा शुरु भइसकेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास बोहोराले जानकारी दिएका छन् ।

गृहमन्त्री खाँणले बेलकामा सप्तकोशीले गरेको कटानबारे उदयपुर घर भएका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गरेका छन् । उनीहरूबीच कटानबाट प्रभावित बस्तीका बासिन्दालाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे छलफल भएको छ ।

गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रदेश १ का नेपाल प्रहरीका प्रमुख नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश १ का सशस्त्र प्रहरी बलका प्रमुख नायब महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख उपरीक्षक कृष्ण अधिकारी र सिँचाइ विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरेर तत्काल उद्धार, राहत र तत्कालका लागि अस्थायी बासको व्यवस्था गर्न र त्यसका लागि के के आवश्यक पर्ने हो मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *