नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पहिरोले अवरुद्ध : खुल्न अझै समय लाग्ने

काठमाडौं ! लगातारको वर्षाका कारण पहिरो खसेर नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध  छन् । सोमबार राति  ११ बजेदेखि सडक अवरुद्ध भएका हुन् । नारायणगढ–मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९ केराबारी र सत्र किलोमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ ।

ईच्छाकामना गाउँपालिका–६ को २ र ३ नम्वर पुलको बीचमा खसेको पहिरो पन्छाएर सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिए । पृथ्वी राजमार्गअन्तर्गत ईच्छाकामना–३ कुरिनघाटमा बिहान ८:५० बजे खसेको पहिरो पन्छाउने काम सुरु भएको उनले बताए । पहिराले राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ । लोडरको प्रयोग गरेर बाटो खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको टोलीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने प्रयास गरेको हो ।  गएरातिदेखि नै सडक अवरुद्ध भएकाले यो सडक खण्डमा गाडीको लामो लाइन छ । लगातार पानी परिरहेकाले अन्य स्थानमा पनि पहिरो जाने जोखिम रहेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले सुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *