स्रोत नखुलेको पचास लाखसहित सौर्य एअरलायन्सकी महिला कर्मचारी पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित सौर्य एअरलायन्सकी एक महिला कर्मचारीलाई पक्राउ गरेको छ।

विराटनगरबाट काठमाडौँ आएको सौर्य एअरलायन्सबाटै उक्त रकम काठमाडौँ आइपुगेको थियो। उक्त रकम संकलन गर्न आउने सौर्य एअरलायन्सकी सहायक रेखा शाक्य पोखरेललाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार शनिबार १ः५५ बजेको समयमा विराटनगरबाट काठमाडौँ आगमन भएको सौर्य एअरलायन्सको विमानमा उक्त रकम लुकाईछिपाई ल्याउँदै गरेको थियो।

गोप्य सूचनाको आधारमा खटिएका सादा पोसाकका प्रहरीले भद्रपुर लेखिएको रातो रंगको मेलब्याग चेकजाँच गर्दा उक्त ब्यागभित्र लुकाईछिपाई राखेको रातो प्लास्टिकले बेरिएको करेन्ट चाउचाउ लेखिएको कार्टुनभित्र स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको नेपाली रुपैयाँ ५० लाख बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ। प्रहरी अनुसार बरामद रकममध्ये रु १००० दरका ४ हजार ९५० वटा र रु ५०० दरका १०० वटा रहेका छन्।

बरामद रकम र रकम संकलन गर्न आउने सौर्यकी कर्मचारी पोखरेललाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *