नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौंमा

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । शनिबार अपराह्न काठमाडौँमा ओर्लिएका श्रीवास्तव अनुभवी कूटनीतिज्ञ भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

यहाँ आउनुअघि उनी भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मंगोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखका रूपमा कार्यरत थिए । श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रूपमा काम गरिसकेको बताइएको छ ।

वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेको अनुभव पनि उनीसित छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत श्रीवास्तवले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *