सेक्युरिटी प्रिन्टिङ केन्द्रका निर्देशक पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेसका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सुरक्षण मुद्रण केन्द्रमा गरेको छानबिनबाट भ्रष्टाचार भएको ठहर गर्दै ९ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

आयोगले प्रिन्टिङका लागि आवश्यक पर्ने पावर स्टिम र फ्युल स्टोरेज टंकी खरिद गर्दा बद्‌नियतपूर्वक राज्यलाई घाटा पुर्‍याएको ठहर गरेको छ।

दाहालका अनुसार खरिदमा अस्वाभाविक लागत तयार गरी स्वीकृत गरेको, खरिद सम्झौताविपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गरेको, खरिद सम्झौतामा उल्लेख भए भन्दा फरक देशमा उत्पादिक जेनेरेटरलाई भुक्तानी दिएको पुष्टि भएको दाबी गरेको छ।

छानबिनबाट खरिद सम्झौताबमोजिम कामै नगरी संरचना संचालनवापत र आपूर्तिपछिको सेवावापत अग्रिम रुपमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको बल्क फ्युल ट्यांक सिस्टम खरिदबाट सरकारको सम्पत्ति गैरकानुनी रुपमा हिनामिना गरेको अख्तियारले बताएको छ।

आयोगले निर्देशक पौडेलसँगै सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल, सहायक निर्देशक रमेशप्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, लेखा अधिकृत रामबहादुर बुढा,

शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेक विल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौविरुद्ध मुद्दा दायर भएको विशेष अदालतले जनाएको छ।

अख्तियारले निर्देशक पौडेलविरुद्ध ६९ करोड, सीडीई पोखरेलमाथि ४९ करोड ४६ लाख, सहायक निर्देशक पोखरेलमाथि २० करोड, शाखा अधिकृत महर्जनमाथि ३ करोड ४४ लाख, लेखा अधिकृत बुढामाथि १९ करोड ८८ लाख, शाखा अधिकृत उपाध्यायमाथि ४० करोड,
प्रधानमाथि २३ करोड ४४ लाख, भुवन महर्जनमाथि ४३ करोड ५७ लाख, मिल लाल गुरौमाथि ८ करोड ६९ लाख भ्रष्टाचार गरेको दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *