जोमसोम–पोखरा हवाई सेवा पुनः सञ्चालनमा

काठमाडौं ! जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ। गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई सेवा प्रतिकूल मौसमका कारण असार १३ गतेदेखि स्थगित भएको थियो।

जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले दुई महिनापछि समिट एयरलायन्सले आज तीनवटा उडान भरेको जानकारी दिए।

“मौसममा सुधार र पर्यटकीय याम सुरु हुन लागेकाले पोखरा(जोमसोम हवाई सेवा सञ्चालन गरिएको हो,” उनले भने, “निजी क्षेत्रको यति एयरलायन्सको भगिनी कम्पनी तारा एयरको जहाजले यही भदौ २५ गतेदेखि उडान गर्ने तयारी गरेको छ।”

तीनवटा उडानमार्फत ५४ भारतीय, एक तेस्रो मुलुकका र दुईजना आन्तरिक पर्यटक मुस्ताङ भित्रिएका जोमसोम विमानस्थलले जनाएको छ। बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिराका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई उडान सञ्चालन भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ।

सडक अवरुद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महंगो शुल्क तिरेर हेलिकप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता थियो। हवाई सेवा सञ्चालन भएपछि मुस्ताङमा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ।

आर्थिक वर्ष २०७९/०८० मा ७१ हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ। केही दिनयता बेनी–जोमसोम सडकमा पनि नियमित यातायात सञ्चालन भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *