गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट क्यालिब्रेसन फ्लाइट सुरु गरिदै

काठमाडौँ । बहुप्रतिक्षित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुँदै छ ।

रुपन्देहीको भैरहवामा नयाँ बनेको उक्त विमानस्थलमा थाइल्याण्डको एरो थाई विमानले परीक्षण उडान गर्नेछ । उक्त विमान बिहीबार साँझ नै विमानस्थलमा पुगिसकेको छ ।

परीक्षण उडान एवं प्राविधिक पक्षको निरीक्षणका लागि सात जनाको टोली पनि बिहीबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । पाइलट, को–पाइलट तथा प्राविधिकसहितको उक्त टोली बिहीबार साँझ नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थियो ।

विमानस्थल कार्यालयका अनुसार आज बिहान १० बजेदेखि परीक्षण उडान सुरु हुने छ । थाई विमानले १० दिनसम्म प्राविधिक परीक्षण उडान सम्पन्न गर्ने जनाइएको छ । त्यसपछि बल्ल नेपाल वायु सेवा निगमको विमानबाट परीक्षण उडान हुनेछ ।

आजबाट हुने परीक्षण उडानका क्रममा अन्य उडानहरु प्रभावित हुनसक्ने जनाइएको छ । परीक्षण उडानहरु सफल भएपछि व्यावसायिक उडानका लागि थप तयार गरिनेछ । आउँदो सालको बुद्ध जयन्ती (२०७९ जेठ २) देखि उक्त विमानस्थलमा व्यावसायिक उडान सुरु गर्ने सरकारको लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *