गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : भोलिबाट क्यालिब्रेसन फ्लाइट ,जेठ २ बाट पुर्ण व्यवसायिक उडान

काठमाडौं !  राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही)मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा)देखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ।
शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुन लागेको उक्त विमानस्थलमा जेठ पहिलो सातादेखि व्यावसायिक उडान गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी गरिएको बताए। विमानस्थलको भौतिक संरचना तथा आवश्यक उपकरण जडान भई फागुन ६ गतेदेखि साता दिनसम्म क्यालिब्रेसन उडान हुने र तीन महिनापछि बुद्ध पूर्णिमादेखि नियमित उडान सञ्चालनको योजनाअनुरूप काम अघि बढाइएको उनले उल्लेख गरे।
महानिर्देशक अधिकारीले निर्धारित समयमा विमानस्थलको व्यावसायिक उडान सञ्चालनका लागि एक समिति गठन गरिएको र उक्त समितिले काम गरिरहेको जानकारी दिए।
शुक्रबारदेखि क्यालिब्रेसन उडान
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि शुक्रबारदेखि क्यालिब्रेसन उडान सुरु हुने प्राधिकरणले जनाएको छ। उक्त प्रयोजनका लागि आजै एरो थाईको जहाज नेपाल आइसकेको छ। थाइल्याण्डबाट दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त ‘एचएस-एआइएम’ जहाज आजै भैरहवा विमानस्थल पुगिसकेको प्राधिकरणका इञ्जीनियर मुलुक मिश्रले जानकारी दिए। क्यालिब्रेसन उडानपश्चात अन्तर्राष्ट्रिय हवाई उडान मापदण्डबमोजिम रिपोर्ट प्रतिवेदन प्रकाशन गरी रिपोर्ट आएको दुई महिनापछि मात्रै ठूला जहाज सञ्चालनयोग्य हुने उनको भनाइ छ।
परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिनेछ। क्यालिब्रेसन उडान फागुन ६ देखि १५ गतेसम्म सञ्चालन हुनेछ। दैनिक सात घण्टाको उडान हुनेछ। उक्त अवधिमा विमानस्थलमा हालः सञ्चालन भइरहेको उडान केही डिले हुने प्राधिकरणले यसअघि नै वायुसेवा कम्पनीलाई अवगत गराइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *