काठमाडौं– नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले आइतबारदेखि उडान सुरु गर्ने भएको हो ।
बेमौसमी वर्षात्सँगै आएको बाढी पहिराले त्यहाँका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले मन्त्री आलेले नागरिकलाई सहजरुपमा सेवा दिने उद्देश्यले वायुसेवा निगमका जहाज सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।
मन्त्री आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा र डोटीमा नेपाल वायुसेवा निगमले कैलालीको धनगढीबाट नियमितरुपमा हवाइ सेवा सञ्चालन गर्ने तयारी गरेको वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताउनुभयो ।