काठमाडौंदेखि धनगढीसम्मको हवाइ भाडा १७ हजार रुपैयाँ : दिल्ली पुग्नभन्दा महँगो

सुदूरपश्चिम! काठमाडौंदेखि धनगढीसम्मको हवाइ भाडा १७ हजार रुपैयाँ पुर्‍याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन्।

 

 

देशको आन्तरिक हवाइसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो। काठमाडौं–नयाँ दिल्लीको हवाइ भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन्। निजी विमान कम्पनीले काठमाडौं–धनगढीको हवाइभाडा सात हजार ९०० बाट वृद्धि गरी  १७ हजारभन्दा बढी पुर्‍याएको गुनासो यात्रुको छ।

चाडपर्वको मौका छोपेर आफूखुशी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु सन्तोष जोशीले गुनासो गरे। ‘काठमाडौँदेखि नयाँ दिल्लीको हवाई भाडा १७ हजारभन्दा कम छ’, उनले भने, ‘देशभित्र यति धेरै भाडा तोकेर यात्रुलाई सास्ती दिने काम भएको छ।’

चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाइ भाडादर वृद्धि हुँदा हवाइमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन सकेको छैन।

धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडा दरअनुसार नै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको बताए।

‘मन्त्रालयले स्वीकृत गरेको भाडादरअनुसार नै विमान कम्पनीले लिइरहेको देखिएको छ’, उनले भने, ‘चाड पर्वको वेला काठमाडौंबाट धनगढी फर्किने यात्रुको चाप बढ्दा अधिकतम भाडा र धनगढीबाट काठमाडौं जाने यात्रु घट्दा न्यूनतम भाडा लिइरहेको देखिन्छ।’ भाडा वृद्धिको विरोधमा विमानस्थल कार्यालय परिसरमा युवाको समूहले विरोध प्रदर्शन गरेको छ।

धनगढी विमानस्थलबाट बुद्धएयर र श्री एअरलायन्सले काठमाडौँ–धनगढी–काठमाडौँसम्मको दैनिक हवाइ सेवा उपलब्ध गराउँदै आएका छन्। यो विमानस्थलबाट दैनिक बुद्धले दुई र श्री एयरलायन्सले चार उडान भर्ने गरेको छ।

निजी क्षेत्रको समिट एयरले केही दिनदेखि नेपालगञ्ज बेसमा हरेक बुधबार र सोमबार धनगढी–बझाङ–धनगढी, धनगढी–साँफे–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जमा सेवा दिन थालेको छ। रासस