साउदी उडेको नेपाल एयरलायन्सको विमान पाकिस्तानको आकाशबाटै फर्कियो

काठमाडौं ! बुधबार राति काठमाडौंबाट साउदी अरेबियाको दमाम उडेको नेपाल वायुसेवा निगमको विमान बीचबाटै काठमाडौं फर्किएको छ। विमानमा प्राविधिक समस्या आएपछि पाकिस्तानको आकाशबाट नै विमान पुन: काठमाडौँ फर्किएको हो।

एयरलायन्सको आरए ४१२ विमान बुधबार राति १२ बजेर ४ मिनेटमा काठमाडौँबाट उडेकोमा नेपाली समय अनुसार बिहान २:३५ बजे पाकिस्तानको आकाशबाट फर्किएको हो । उक्त विमान ४ बजेर ५० मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो। जहाजमा ९५ जना यात्रु सवार थिए ।

पाकिस्तानको आकाशमा पुगेपछि विमानको ‘टिकास उपकरण’मा समस्या देखिएकाले पुनः काठमाडौं फर्काइएको एयरलायन्सले जनाएको छ। ककपिटमा ‘ट्राफिक कोलिजन एभोइडेन्स सिस्टम– टीसीएएस’ (टिकास) भन्ने प्रविधि हुन्छ। यो प्रविधिबाट पाइलटले आकाशमा उडिरहेका अरु जहाजहरु कति दुरीमा छन् र कति उचाइमा छन् भन्ने कुरा थाहा पाउँछ ।