पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानको एयरलाइन्सले गर्‍यो पहिलोपटक व्यावसायिक उडान

काठमाडौं ! भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक व्यावसायिक उडान भरेको छ ।

भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ः४० बजे पोखरा ओर्लिएको सो जहाज यहाँबाट ८ः१५ बजे ४२ यात्रु बोकेर थिम्पु नै फर्किएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको आठ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको पोखरा विमानस्थलले जनाएको छ । पोखरा विमानस्थल गत पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन भव्य उद्घाटन गरिएको थियो ।

पोखराबाट थिम्पु जान लागेका पर्यटकलाई पोखरा विमानस्थलमा खादा तथा माला लगाएर बिदाइ गरिएको थियो ।

गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगर प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्‌का अध्यक्ष पोमनारायण श्रेष्ठ, पर्यटन व्यवसायीलगायतले यात्रुहरूको बिदाइ गरेका हुन् ।

पोखरा विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णले अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गरेको बताए । उनका अनुसार प्रतियात्रु रु तीन हजार विमानस्थललाई आम्दानी भएको छ ।

कर्णले भने, “यो पोखराको पहिलो कमर्सियल उडान हो । यसलाई हामी रेभेन्यु फ्लाइट भन्छौं, चार्टरको रूपमा आएको हो । यसका लागि मेहनत गरेका थियौं, कम्पनीलाई राम्रो सुविधा दिन्छौं भनेर प्रतिबद्धता गरेका थियौं, यसबाट उनीहरू कन्भिस भएर आएका हुन् ।”

भारत, नेपाल र भुटान घुम्ने गरी आएका अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन् । जहाज भारतीय एजेन्सीले नै चार्टर गरेका थिए । उनीहरू तीन दिन पोखरामा बसेर प्याराग्लाइडिङलगायतका विभिन्न साहसिक गतिविधिमा सामेल भएका थिए ।

काठमाडौंबाट उनीहरू आठवटा हेलिकोप्टरमा पोखरा आएका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान अझै हुनसकेको छैन । आन्तरिक उडानमा विमानस्थल सीमित छ । यसअघि चीनको सिचुआन एयरलाइन्सले पोखरामा पहिलो चार्टर उडान गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *