गुल्मीमा नेपाल एयरलाइन्सले नियमित उडान गर्ने, परीक्षण उडान सफल

काठमाडौं ! गुल्मीको रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सले शुक्रबार परीक्षण उडान गरेको छ । परीक्षण उडान सफल भएसँगै अब रेसुंगा विमानस्थलबाट नेपाल एयरलाइन्सले नियमित उडान गर्ने तयारी पनि गरेको छ ।

उक्त विमानस्थलमा शुक्रबार विहान ६ः३० बजे नेपाल एयरलाइन्सको जहाज अवतरण गरेको हो । प्राविधिक टोलीसहित भएको उडानपछि नेपाल एयरलाइन्सले अब नियमित उडान अनुमति लिने र व्यावसायिक उडान सुरु गर्ने बताएको छ ।

रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले हप्तामा एक उडान गर्ने गरी नेपाल एयरलाइन्ससँग सम्झौता गरिसकिएको जानकारी दिएका छन् ।

यसअघि पनि निगमले रेसुंगाबाट नियमित उडान गर्ने तयारी गरेको थियो । तर, बक्यौता नतिरेपछि नागरिक उड्डयन प्राधिकरणले नयाँ गन्तव्यमा उडान गर्न अनुमति दिएन। बक्यौता चुक्ता गरेसँगै निगमले काठमाडौंबाट सातामा एक उडानको अनुमति पाउने भएको छ ।

परीक्षण उडान सफल भएको रिपोर्ट बुझाएपछि व्यवसायिक उडानका लागि अनुमति पाउने र त्यसपछि नियमित उडान हुने नेपाल एयरलाइन्सले जनाएको छ ।

२०६३ सालमा शिलान्यास भएको रेसुंगा विमानस्थलको निर्माणका लागि ३३ करोड रूपैयाँ खर्च भएको छ । ११६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको यो विमानस्थलमा १८ सिटे जहाजले उडान गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *