कतार एयरवेजले भोलिदेखि भैरहवाबाट उडान थाल्ने

भैरहवा ।  रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा एकपछि अर्को विदेशी वायुसेवा कम्पनीले उडान सुरु गरिरहेका छन् । यसैक्रममा मंगलबारबाट कतार एयरवेजले दैनिक उडान सुरुवात गर्ने भएको छ ।

नागरिक उड्ययन प्राधिकरणको अनुमतिपछि भैरहवाबाट दैनिक उडान भर्न लागेको हो । कतार एयरवेजले सातामा भैरहवाबाट सातैवटा उडान गर्ने प्राधिकरणले जनाएको छ । यसअघि उक्त वायुसेवाले कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ । मंगलबारबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका अनुसार कतार एयरवेजको जहाज प्रत्येक दिन २ बजेर ४५ मिनेटमा दोहाबाट भैरहवामा अवतरण गर्नेछ । भैरहवाबाट यात्रु लिएर ४ बजेर ४५ मिनेटमा काठमाण्डौं प्रस्थान गर्नेछ । विमानस्थलका अनुसार पहिलो चरणमा कतारले यहाँबाट मंसिर १५ गतेसम्म उडान गर्नेछ । कतार एयरवेज थपिएसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुगेको छ ।

यसअघि दुबईको फ्लाई दुबई, नेपाल एयरलाइन्स, कुवेतको जजिरा एयरवेज र थाईल्याण्डको थाई एयरएसिया ले भैरहवाबाट उडान थालिसकेका छन् । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान गरिरहेको छ ।

यहाँबाट फ्लाई दुवईले दैनिक उडान गरिरहेको छ । नागरिक उड्ययन प्राधिकरणबाट स्वीकृत उडान तालिका अनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुवईको जहाज भैरहवा अवतरण गर्नेछ । भने पौने ३ बजे यहाँबाट उडान भर्नेछ । नेपाल एयरलायन्सले शनिबार साँझबाट काठमाडौं–भैरहवा–दुवई उडान सुरु गरिरहेको छ । नेपाल एयरलायन्सले सातामा चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तय भएको छ । थाई एयर एसिया प्रत्येक साताको सोमबार र बिहीबार उडान गर्ने तय भएको छ ।