बागलुङमा धान उत्पादन बढ्यो

ढोरपाटन (बागलुङ) – गत वर्ष धान उत्पादनमा कमी हुँदा निराश भएका बागलुङका किसान यस वर्ष भने खुसी भएका छन्। रोपाइँका बेला समयमै वर्षा भएपछि यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो।

गत वर्ष करिब १० प्रतिशतभन्दा बढी धान उत्पादनमा कमी आएकामा यस वर्ष एक सय मेट्रिक टन बढी धान उत्पादन भएको छ। बागलुङ मध्यपहाडी क्षेत्र भएको हुँदा थोरै क्षेत्रमा मात्र सिँचाइको व्यवस्था छ। सीमित सिँचाइको सुविधा हुँदाहुँदै पनि यहाँका किसानले धान उत्पादनमा मेहनत गर्दै आएका छन्।

कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष छ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भए पनि १८ हजार छ सय ९० मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो। यस वर्ष पाँच हजार सात सय १७ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएकामा २० हजार पाँच सय ५१ मेट्रिक टन उत्पादन भएको छ। जिल्लाको सबैभन्दा बढी जैमिनी नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा धान उत्पादन हुने गरेको छ। यस वर्ष किसानलाई मौसमले साथ दिएको र उन्नत जातका बीउ प्रयोग गरेका कारण धान उत्पादनमा वृद्धि आएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश सिलवालले जानकारी दिनुभयो।

उनले भने, “अहिले पनि बागलुङका धेरै किसानाहरुले रैथाने जातको धानको बीउ प्रयोग गर्ने गरेको पाइन्छ, बिस्तारै नयाँ जातका बीउ प्रयोग गर्न थाल्नुभएको छ, नयाँ प्रविधि पनि अपनाउन थाल्नुभएको छ, पोहोर सालको भन्दा यस वर्ष केही मात्रमा धान उत्पादनमा वृद्धि भएको छ, किसानलाई परम्परागत खेती प्रणालीसँगै आधुनिकतासँग जोड्नका लागि कृषि ज्ञान केन्द्रले पनि नयाँ प्रयासहरु थालेको छ, कृषकहरुले कृषिलाई आधुनिकीकरण गर्नसके अहिलेको भन्दा बढी धान उत्पादन गर्न सक्ने सम्भावना देखिन्छ।”