वर्षा नहुँदा किसानलाई धानको बीउ र मकै जोगाउनै मुस्किल

काठमाडौं ! वैशाख अन्तिम हप्ता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो । त्यसपछि अहिलेसम्म पानी परेको छैन ।

लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेका छन् । लामो समय खडेरी पर्दा ब्याडमा धानको बीउसँगै बारीमा मकैका बोटसमेत सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।

अघिल्ला वर्षहरूमा यतिबेला यस क्षेत्रका खेतमा कृषकले धान लगाउन शुरू गर्थे । वर्षा नहुँदा खोलानाला समेत सुकेका छन् । खोलानाला सुक्दा सिँचाइको चरम अभावमा रहेका किसानलाई धानको बीउ र कुटाउने बेलाका मकै जोगाउन हम्मेहम्मे परेको छ ।

जेठ अन्तिम हप्तादेखि रोपाइँ गर्ने किसान यतिबेला आकाश हेर्दै बस्न बाध्य छन् । कतिपय किसानको ब्याडमा रोप्नका लागि तयार भएका बिरुवा समेत सुकेर मर्न थालेका हुन् । असार शुरू हुँदा समेत पानी नपर्दा धानको बीउ, मकै तथा अन्य तरकारी समेत सुक्न थालेको कृषकको गुनासो छ । गएका वर्षहरूमा यतिबेला ६० प्रतिशतको हाराहारीमा रोपाइँ हुने गरेकोमा यस वर्ष करीब २० प्रतिशत मात्रै रोपाइँ भएको बडिगाडका कृषक प्रेमबहादुर क्षेत्रीले बताए ।

लामो खडेरीका कारण धानसँगै मकै र कोदोको बीउ समेत सुकेको उनको भनाइ छ ।

क्षेत्री भन्छन्, ‘जेठको २०/२२ मै रोपाइँ गर्ने भनेर वैशाख महिनामै ब्याड राखियो, अहिले धानको बीउ हुर्किएर ठूलो–ठूलो भएका छन्, पानी पर्दैन, अब कसरी रोपाइँ गर्ने, ब्याड राख्ने बेलामा त बर्खा लागेजस्तै लगातार हप्ता दिन पानी पर्‍यो, यसपालि छिट्टै रोपाइँ गर्न पाइने भयो भन्ने लागेको थियो, अहिले धेरै दिन भयो पानी परेको छैन, बारीमा एकोहोराउने बेलाका मकै मर्न थाले, कोदोको बीउ पनि त्यस्तै भएको छ, बढो समस्या पर्‍यो, बीउ जोगाउनै गाह्रो भयो ।’

स्थानीय कृषक तुलबहादुर जिसीले पहिले असार महिना शुरू हुनुपूर्व नै ढपक्क बर्खा लाग्ने हुँदा किसानलाई खेतीपाती गर्न सहज हुने गरेको भन्दै अहिले खडेरीले गर्दा आफूहरू समस्यामा परेको बताए । खेतमा लगाएको गहुँ स्यारेलगत्तै खनजोत गरेर धान रोप्नका लागि तयार हुने गरेको भन्दै अहिले पानी नपर्दा खेत बाँझो समेत मार्न नपाएको गुनासो पोखे । पानी नपर्दा ठाडो खोला सुकेको हुँदा सिँचाइ गर्न नपाएको उनको भनाइ छ ।

‘पहिले–पहिले यस्तो समस्या त हुँदैनथ्यो, जेठको पहिलो/दोस्रो हप्तादेखि बर्खा लाग्थ्यो, अहिले असार लागि सक्दा पनि बर्खाको अनुभूति हुन सकेको छैन, जताजतै सुक्खैसुक्खा छ, पानी परेर मकै छरियो, ब्याड राखियो, अहिले सुकेर भुसाजस्तो भन्न थाले,’ जिसीले भने, ‘एक झर्का ठूलो पानी परेत मकै पानी राम्रो हुन्थ्यो, खेतमा रोपाइँ गर्न पनि सहज हुन्थ्यो, अब लगातार हप्ता दिनसम्म ठूलो पानी परेन भने रोपाइँ गर्न सम्भव छैन, खोलानाला बढे भने मात्रै रोपाइँ गर्न सकिला, अहिले गाउँका खोलामा कमिला हिँड्छन्, पानी छैन ।’

अर्का किसान निलमाया विकले वैशाख पहिलो हप्ता झरेको मकै जेठ दोस्रो साता कुटाएको भन्दै त्यसयता पानी नपर्दा बारीमा लगाएको सबै मकैको बिरुवा सुकेर नष्ट हुन थालेको बताइन् । मकैसँगै लगाएको कोदोको बीउ पनि कामै नलाग्ने गरी सुकेको विकले बताइन् । घर नजिक छेउमा रहेको बारीमा खानेपानीको पाइपबाट पानी लगाएर केही मकै र कोदोको बीउ हुर्काउन सफल भएको उनी बताउँछिन् ।

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले हालसम्म जिल्लाभर १२ प्रतिशत मात्रै रोपाइँ भएको बताए । लामो समय खडेरी पर्दा कृषकले बीउ तयार गरे पनि रोपाइँ गर्न नसकेको उनको भनाइ छ । उनका अनुसार यतिबेलासम्म जिल्लामा २५ प्रतिशत रोपाइँ सकिनुपर्ने थियो ।

वैशाखको वर्षाले कृषक उत्साहित भएर धेरै बीउ उत्पादन गरेको हुँदा रोपाइँ क्षेत्रफल बढ्न सम्भावना बढेको प्रमुख भट्टराईले बताए ।

‘गत वर्ष ५ हजार ८८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो, अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर ६ हजार हेक्टरमा रोपाइँ हुन्छ भन्ने लागेको थियो, खडेरीले गर्दा केही समस्या परेको छ,’ प्रमुख भट्टराईले भने, ‘अब वर्षा भयो भने पनि किसानले धेरै नोक्सानी व्यहोर्नुपर्ने थिएन, जिल्लामा अझै ७५ प्रतिशत रोपाइँ गर्न बाँकी छ ।’

बागलुङमा ४६ हजार १४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार ५२३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । त्यसमध्ये ६ हजार १४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । खेतीयोग्य जमिनको २० दशमवलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र २ हजार ७७५ हेक्टर रहेको छ ।

पछिल्लो समय बसाइँसराइँले खेतीयोग्य जमिन समेत बाझिँदै गएका छन् । गाउँमा प्रशस्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा बाँझै राख्नुपरेको कृषकको गुनासो छ । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *