मुगुको गमगढी बजारमा आगलागी

काठमाडौं ! मुगुको सदरमुकाम गमगढी बजारमा गएराति आगलागी भएको छ । गमगढी बजारस्थित कालिका मालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी हुँदा छ घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । क्षतिको पूर्ण विवरण आइनसकेको उनले बताए

नेपाली सेना ,नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नगर प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको उनले बताए । उनका अनुसार गएराति काठले बनेको एकघरबाट आगो सल्किएको थियो । आगलागीबाट तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पञ्च सेजुवाल, पीआर मल्ल , प्रदीप रावल र पुतली शाहीको घर जलेर नष्ट भएको थापाले जानकारी दिए ।

आगो नियन्त्रणका लागि गमगढी बजारमा वितरण गरेको खानेपानी पाइप लाइनबाट सुरक्षाकर्मीहरूले आगो नियन्त्रण गरेका थिए । विसं २०७८ कात्तिक २९ गते गमगढी बजारको तल्लो बजारमा पनि आगलागी हुँदा १९ घर जलेर नष्ट  भएका थिए  ।