एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना निर्वाचित

धनगढी ! नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा यज्ञराज ढुङ्गाना निर्वाचित भएका छन् । पूर्वप्रदेश सचिवालय सदस्यसमेत रहेका ढुङ्गाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई ६९ मतले पराजित गर्दै विजयी भएका हुन् ।

उनले दुई सय ८७ मत प्राप्त गर्दा पाण्डेले दुई सय १८ मत मात्रै पाए । पाण्डे कैलाली जिल्लाका सचिव थिए ।
अध्यक्षका अर्का प्रतिद्वन्द्वी दुर्गाप्रसाद जोशीले भने ६३ मत मात्रै पाएका छन् । उनी हालका कार्यवाहक अध्यक्षसमेत हुन् ।
उपाध्यक्षमा पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन् । उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर विष्टले एक सय ८८ मत मात्रै पाएका छन्।

यस्तै विष्णु चौधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत प्राप्त गरेका छन् ।

सचिवमा भने पाण्डे प्यानलकै ममताप्रसाद चौधरी विजयी भएका छन् । चौधरीले दुई सय ४३ मत पाउँदा ढुङ्गाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत मात्रै पाएका छन् ।

सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत पाएका छन् । उपसचिव खुलातर्फ भने ढुङ्गाना प्यानलका चूडामणि भट्ट विजयी भएका छन् ।

भट्टले दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाए । अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरुङले ७१ मत पाएका छन् ।

उपसचिव महिलातर्फ ढुंगाना प्यानलकै गङ्गाकुमारी चौधरी एक सय ९६ मतसहित विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१,रत्ना कुँवर जोशीले ९४ र अम्बिका विष्टले ९० मत पाएकी छन् ।

फागुन ६ गतेबाट सुरु भएको एमाले नवौँ अधिवेशनको छैटौँ दिन शुक्रवार भएको मतदानमा पाँच सय ७७ मत खसेको थियो । अधिवेशनमा कुल पाँच सय ९१ प्रतिनिधि थिए ।

यो सँगै पदाधिकारीको मतगणना सकिएको छ । अबको केही बेरमा सदस्यको मत गणना अब हुने निर्वाचन कमिटीले जनाएको छ ।