एमाले कैलाली जिल्ला अधिवेशन : अध्यक्षमा यज्ञराज ढुङ्गानाको सशक्त दावेदारी प्रस्तुत

धनगढी । नेकपा (एमाले) कैलाली जिल्लाको ९ औँ जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते हुँदैछ। उक्त अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने भएको छ।

अधिवेशनका लागि प्रतिनिधि समेत छनौट भैसकेको हुनाले पदाधिकारीका आकाङ्क्षीहरू आफ्नो उम्मेदवारी घोषणाको तयारीमा रहेका छन् । जिल्लाको नेतृत्व लिन चाहने नेताहरूले अब चुनिएर आएका प्रतिनिधिहरूलाई आफूले जिल्लाको नेतृत्व लिन चाहना गरेको भन्दै दौडधुप सुरु गरेका छन् ।

नेतृत्वमा को आउने भन्ने चर्चा चलिरहेका बेला अनेरास्ववियुबाट आफ्नो राजनीति सुरु गरेका एमाले सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व सचिवालय सदस्य यज्ञराज ढुङ्गानाले जिल्ला अध्यक्षका लागि  दाबी  गर्नुभएको छ ।

गत २७ गते भएको प्रतिनिधि छनौटमा ढुङ्गाना निर्वाचनको  सामना गरि अत्याधिक मतका साथ प्रतिनिधिमा चयन हुनुभएको हो ।  प्रतिनिधि आउनमै रोक्न खोजिए पनि सर्वाधिक मतसहित प्रतिनिधि चयन भएपछि ढुङ्गाना इतर समूहमा  तरङ्ग उत्पन्न भएको बताइन्छ। भूगोलमा कार्यकर्तामाझ अत्यन्त लोकप्रिय ढुङ्गानाका पक्षमा ७० प्रतिशत भन्दा बढी प्रतिनिधिहरू रहेको जिल्लाका अगुवा नेताहरूले बताउने गरेका छन् ।

राजनीतिसँगै व्यवसायमा पनि रहेका ढुङ्गाना सामाजिक कामहरूमा पनि त्यत्तिकै व्यस्त हुन्छन् । उनी धनगढीमा अवस्थित नवजीवन हस्पिटलका अध्यक्ष  हुन् । उनले हस्पिटलमार्फत दीनदुःखी जनताहरूको सेवा पनि गर्ने गरेका छन् । नम्र स्वभाव,पारदर्शी व्यवहार र परिपक्वता उनका प्रमुख विशेषता हुन् । आफ्नो जिम्मेवारी र भूमिकालाई कुशलताका साथ निभाउन सक्ने क्षमता ढुङ्गानामा छ। वर्तमान कैलाली जिल्लाका पदाधिकारीले पार्टीलाई कमजोर बनाएको समयमा उनलाई पार्टी निर्माणको नयाँ विकल्पको रुपमा उभ्याउन खोजिएको छ। आगामी अधिवेशनबाट ढुङ्गानालाई सर्वसम्मत नेतृत्वका रुपमा अघि सारिने र त्यो सम्भव नदेखिए निर्वाचन प्रक्रियामार्फत भएपनि नेतृत्वमा ल्याई छाड्ने अधिकांश प्रतिनिधिहरुको इच्छा रहेको एमाले कैलालीका नेताहरू बताउँछन् ।