एमाले कैलालीको ९ औं जिल्ला अधिवेशन फागुन ६ र ७ गते सुखडमा हुने

धनगढी ! नेकपा (एमाले) कैलालीको ९ औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते हुने तय भएको छ। मंगलबार धनगढीमा बसेको जिल्ला कमिटी कैलालीको बाह्रौं बैठकले उक्त मिति तय गरेको हो।

विगतमा पटकपटक जिल्ला अधिवेशनको मिति तोकिएपनि विविध कारणहरुले अधिवेशन पछाडि धकेलिएको थियो। उक्त जिल्ला अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली नै उद्घाटन गर्न आउने भएपछि एमालेका नेताहरुले अध्यक्ष ओलीसँग परामर्श गरेर अधिवेशनको मिति तय गरेका हुन् । केही दिन अघि बसेको एमाले सुदूरपश्चिम प्रदेशको दोस्रो बैठकले पनि जिल्ला अधिवेशनको मिति तोकेको थियो।

एमाले कैलालीले ९ औं जिल्ला अधिवेशन सुखडमा गर्ने भएको छ। उक्त अधिवेशन सफल पार्न बैठकबाट विभिन्न उपसमितिहरु पनि निर्माण गरिएका छन् । जिल्ला अधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न प्रयत्न हुने र त्यो सम्भव नभए लोकतान्त्रिक विधिमा गएर जिल्लाको नेतृत्व र कमिटी छान्ने इन्चार्ज गणेससिंह ठगुन्नाले जानकारी दिनुभयो।