एमाले सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन भोलिबाट : अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने

काठमाडौं ! नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन आइतबारबाट धनगढीमा सुरु हुँदैछ।

भोलि असोज २१ गते आइतबारबाट सुरु हुने अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु हुनेछ। उक्त अवसरमा एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरुको पनि सहभागिता रहनेछ।

प्रथम अधिवेशनको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले बताउनु भयो। ”अधिवेशन एतिहासिक र सफल पार्न हाम्रो सम्पुर्ण ध्यान अहिले यहीँ छ,यसका लागि सम्पुर्ण तयारी लगभग पूरा भैसकेको छ।”-अध्यक्ष भण्डारीले भन्नुभयो।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि प्रतिनिधि चयनको कार्यपनि सम्पन्न भैसकेको छ। प्रतिनिधि चयनको काम टुंगो लागिसकेकाले अधिवेशनका लागि अधिवेशन प्रतिनिधिहरु धनगढी आउनेक्रम सुरु भैसकेको छ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले यो प्रथम अधिवेशनलाई एतिहासिक बनाउन चाहन्छ। यो अधिवेशन आगामी मिसन २०८४ अभियानसँग पनि जोडिने भएकोले भव्य रुपमा र विवादरहित रुपमा सम्पन्न गर्नुपर्ने वर्तमान अध्यक्ष दामोदर भण्डारीको जोड रहेको छ।

आइतबारबाट सुरु हुने यो अधिवेशन दुई दिन चल्नेछ। अधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने प्रदेश अध्यक्ष दामोदर भण्डारीको जोड छ।