एमाले कोशी प्रदेशको अधिवेशन आजबाट : अध्यक्ष ओलीले उद्घाटन गर्नु हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीको अधिवेशन आज सुरु हुँदैछ। आज र भोलि (असोज १२ र १३ गते)का लागि तय गरिएको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।
नेकपा (एमाले) कोशी प्रदेश कमिटीले बिहिबार विराटनगरमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले आज शुक्रबार अधिवेशन उदघाटन गर्नुहुने कार्यक्रम छ ।
विराटनगरस्थित होटल मनास्लुमा आयोजना गरिने अधिवेशनको भव्य तयारी गरिएको एमालेका कोशी प्रदेश कमिटीका अध्यक्ष तुलसी न्यौपानेले जानकारी दिनुभयो ।
अध्यक्ष न्यौपानेले मनोनीत बाहेकका प्रतिनिधि छनोट सकिएको जानकारी दिनुभयो । अधिवेशनमा १३७ पालिका, २३ जनसंगठन, दलित, मजदुर समेत गरी एक हजार ५० जनासम्म प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने छन् । अधिवेशन सम्पन्न गर्न मूल व्यवस्थापन समिति, अनुगमन निर्देशन समिति र १२ वटा उपसमिति बनेका छन् । अधिवेशन दुई दिनका लागि तय गरिए पनि एकदिन थपिनसक्ने वताइएको छ । सबै प्रक्रिया असोज १४ गतेसम्ममा सक्ने तयारी रहेको पार्टीका सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठले जानकारी दिनुभयो । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।