एमालेका प्रतिनिधिहरुको हार्दिकता र व्यवहारले सौराहाका व्यवसायीहरु प्रभावित

काठमाडौं ! नेकपा (एमाले) को दशाैँ महाधिवेशनका क्रममा चितवनको सौराहामा लगातार तीन दिनसम्म झन्डै आठ हजार सङ्ख्यामा भिड थियाे । महाधिवेशन प्रतिनिधिसँगै चासो राख्ने एमालेका हजारौँ कार्यकर्ताले सौराहा भरिएको थियो । मङ्सिर १०, ११, १२ र १३ गते सौराहामा रहेका सबै होटल बुक भएका थिए । भरिभराउ सौराहामा एमालेका कार्यकर्ताको हार्दिकता र व्यवहारले नयाँ छाप छाडेको छ ।

नेकपा एमालेको दशौँ महाधिवेशनमा प्रतिनिधिको व्यवस्थापन शैली देखेर सौराहावासी उत्साहित भएका छन् । सौराहाका होटलमा बसेका एमालेका प्रतिनिधिले देखाएको हार्दिकता र अनुशासनले सौराहाका व्यवसायी खुसी भएका छन् । कार्यक्रममा सहभागी प्रतिनिधिमात्र होइन अवलोकनका लागि गएका अन्य कार्यकर्ताको व्यवहारले समेत सौराहाका व्यवसायी प्रभावित भएका छन् ।

मङ्सिर १० गते बेलुकादेखि १४ गते बेलुकासम्म एमालेका प्रतिनिधिहरू सौराहामा रहेका थिए । चार रात पाहुनाको रूपमा एमालेका प्रतिनिधि आफ्नो होटलमा बास बस्दा उनीहरूले देखाएको हार्दिकता र व्यवहार सोचेभन्दा फरक पाएको व्यवसायीहरूले सभ्यखबरलाई बताए । प्रतिनिधिसँगै आएका अन्य कार्यकर्ता पनि पर्यटनमैत्री पाइएको व्यवसायीहरूले बताए ।

राजनीतिक दलको कार्यक्रम भनेपछि हल्ला, विवाद, झगडा पर्ने हो कि भन्ने चिन्ता सौराहाका व्यवसायीमा थियो । व्यवसायीहरूले खानपिन, बाेली, व्यवहारका कारण समस्या आउन सक्ने आकलनसमेत गरेका थिए । तर यो महाधिवेशनमा सहभागी एमालेका प्रतिनिधिहरूले अरू पक्षले पनि सिक्न सक्ने व्यवहार देखाएर गएका व्यवसायीहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *