सुदुरपश्चिम प्रदेश एमाले वडा अधिवेशन : ५२२ वडाहरुमा सर्वसम्मत नयाँ नेतृत्व चयन सम्पन्न

काठमाडौं ! नेकपा (एमाले)ले शनिबारसम्म सुदूरपश्चिम प्रदेशका ८ जिल्लाका ५२२ वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । ८८ स्थानीयतहमा ७३४ वडा रहेकोमा बझाङ बाहेकका ८ जिल्लाका ६४० वडामध्ये ५२२ वडामा अधिवेशन सम्पन्न भएर सर्वसम्मत नेतृत्व चयन गरिएको एमालेका केन्द्रिय सदस्य एवं सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले सभ्यखबरलाई जानकारी दिनुभयो ।

बझाङबाहेक प्रदेशका ६ पहाडी जिल्लाका प्राय:  वडाहरूमा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ भने बाँकी रहेका वडामा पनि सर्वसम्मत रुपले अधिवेशन सम्पन्न गर्ने तयारी रहेको बताउनुभयो ।

रावलले बैतडीमा ८४ मध्ये ७८ वडामा शुक्रबार सर्वसम्मत नेतृत्व चयन भएको र बाँकी रहेका ६ मध्ये चार वडामा शनिबार र दुुई वडामा आइतबार अधिवेशन हुने जानकारी दिनुभयो ।
५२ वडा रहेको डडेल्धुरामा ४६ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने बाँकी रहेका वडामा १५ गतेसम्म अधिवेशन सम्पन्न गर्ने तयारी छ । बाजुरामा सबै ६९ वडा र चार वटा पालिकाको अधिवेशन पनि सम्पन्न भइसकेको रावलले बताउनुभयो । बाँकी रहेका वडा र स्थानीयतहको अधिवेशन कात्तिक १५ गते हुनेछ ।
६१ वडा रहेको दार्चुलामा ५५ वडाको अधिवेशन सम्पन्न भइसकेको छ भने अन्यमा पनि सर्वसम्मत रुपले नेतृत्व चयन गरिने एमालेले जनाएको छ ।
अछाममा ९१ मध्ये शनिबार साँझसम्म ६० वडामा निर्विरोध अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिएको रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कात्तिक १५ गतेभित्र बाँकी रहेका सबै वडामा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय भएको छ । कैलाली र कञ्चनपुरका १५ बाहेक सबै वडामा एमालेले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।

शुुक्रबार सम्पन्न वडा अधिवेशनबाट १३ वटा स्थानीय तह रहेको कैलालीका ११६ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको एमालेले जनाएको छ । एमाले कैलालीका अध्यक्ष रतन थापाले जिल्लामा कुल १२६ वडा रहेकोमा शुक्रबार साँझसम्म ११६ वडामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको जानकारी दिनुभयो ।
शुुक्रबार अबेरसम्म बन्द सत्र नसकिएका बाँकी १० वडामा शनिबार सर्वसम्मत रुपमै नेतृत्व चयन गरिने अध्यक्ष थापाले बताउनुभयो ।

धनगढी उपमहानगरपालिका-१२ बाहेक अन्य १८ वडामा अधिवेशन सम्पन्न भएको नगर कमिटीका अध्यक्ष रामचन्द्र जोशीले जानकारी दिनुभयो ।
९ स्थानीयतहका ९२ वडा रहेको कञ्चनपुुरमा पाँचबाहेक सबै वडामा अधिवेशन सम्पन्न भएको छ । एमाले कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापाले दोधारा चाँदनी नगररपालिका-७, पुनर्वास नगरपालिका-८ र वेदकोट नगरपालिकाका तीनवटा वडाबाहेक सबै वडामा सर्वसम्मत रुपले नयाँ नेतृत्व चयन गरिएको जानकारी दिनुभयो। बाँकी रहेका वडामा शनिबार नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न हुने उहाँले बताउनुभयो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *