ब्राजिलमा एउटा यात्रुबाहक विमान दुर्घटना, ६१ जनाको मृत्यु

काठमाडौं- ब्राजिलको साओ पाउलो राज्यमा एउटा विमान दुर्घटनामा परेको छ । दुर्घटनामा विमानमा सवार ५७ यात्रु र ४ चालक दलका सदस्य सहित ६१ जनाकै मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

दुई वटा इन्जिन भएको एटीआर ७२–५०० टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलका लागि उडिरहेको थियो । विमान अवतरणअघि नै भिन्हेडो शहरमा खसेको भोपास एयरलाइन्सले जनाएको छ ।

सामाजिक संजालमा सार्वजनिक भएको भिडियोमा विमान सिधै ठाडो रुपमा तल खसेको देखिन्छ । साथै खस्दै जाँदा घुमिरहेको पनि देखिन्छ ।

दुर्घटनामा ज्यान गुमाउनेका परिवार र आफन्तलाई ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुलाले दुःख व्यक्त गर्नुभएको छ । साओ पाउलो राज्यका गभर्नरले तीन दिने शोकको घोषणा गर्नु भएको छ ।

दुर्घटनाग्रस्त विमानको फ्लाइट डाटा रेकर्डर प्राप्त भएकाले दुर्घटनाको अनुसन्धानका लागि सहयोग पुग्ने अधिकारीहरुले बताएका छन् । दुर्घटनाग्रस्त विमान आवासीय क्षेत्रमा खसे पनि जमिनमा कुनै मानवीय क्षति भएन ।