काठमाडौं- दक्षिण अफ्रिकामा एउटा बस पुलबाट झण्डै ५० मिटर तल खाल्डोमा खस्दा ४५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एकजना आठ वर्षीया बालिका जीवित भेटिएकी छन् । उनको अवस्था गम्भीर रहेको र अहिले अस्पतालमा उपचार भइरहेको छ ।
उक्त बस उत्तरपूर्वी लिम्पोपो प्रान्तमा सडक किनारामा रहेको बारमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो पछि त्यसमा आगो लागेको थियो । यात्रुहरू बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया सहरमा इस्टर सेवाका लागि यात्रा गरिरहेका तीर्थयात्रीहरू थिए ।
बसले नियन्त्रण गुमाएपछि जोहानेसबर्गबाट करिब तीन सय किलोमिटर उत्तरस्थित मोकोपेन र मर्केनबीचमा रहेको एउटा पुलबाट खसेको दक्षिण अफ्रिकाको सरकारी समाचार संस्था एसएबीसीले जनाएको हो ।