सीमित सवारी र ‘ओभर लोड’ ले यात्रा जोखिमपूर्ण

काठमाडौं ! यही मङ्सिर १५ गते साँझ दलदलेबाट डेढगाउँका लागि छुटेको जिप धौबादी नजिक दुर्घटनामा पर्यो । दुर्घटनामा परेर चार जनाले ज्यान गुमाए । दशजना घाइते भए । गत कात्तिक १५ गते बुलिङटारमा भएको सवारी दुर्घटनामा पाँच जनाले ज्यान गुमाए । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा बर्सेनि यस्ता दुर्घटना हुने गरेका छन् । जसबाट जनधनको क्षति हुने गरेको छ । पहाडी क्षेत्र जाने जीर्ण सडकका कारण पहाडी क्षेत्रका बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

एकातर्फ जीर्ण सडक त्यसमाथि सीमित सवारी साधन सञ्चालन हुँदा हुने ओभर लोडका कारण यात्रा जोखिम पूर्ण हुने गरेको छ । “बाटो सारै खराब छ, त्यस माथि सीमित सवारी चल्दा जिपमा यात्रुको चाँप धेरै हुन्छ, डर मानी मानी यात्रा गर्नुपर्ने पहाडका बासिन्दाको वाध्यता बनेको छ”, बौदीकालीका स्थानीय गेसबहादुर रानाले भने ।

समयमा काम सम्पन्न नगर्दा पटक पटक ठेक्काको म्याद थप्ने काम मात्रै भएको छ । जसले गर्दा बाटोको अवस्था जीर्ण रहेको छ ।

पहाडी क्षेत्रमा दुर्घटनाको जोखिम बढेपछि हालै मात्र जिल्लाको पहाडी क्षेत्रमा प्रहरी र ट्राफिकसहित पाँच स्थानमा चेकपोष्ट स्थापना गर्ने निर्णय गरिएको छ । पहाडी सडकमा चल्ने सवारी साधनलाई यातायात व्यवस्था कार्यालय, यातायात समिति, ट्राफिक प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले संयुक्त अनुगमन तथा नियमित जाँच गर्ने निर्णयसमेत गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारीले बतायो । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *