नेपाल आयल निगमले भन्यो, इन्धनको खपत घटाउन आइतबार सार्वजनिक बिदा थपौ

काठमाडौँ ! नेपाल आयल निगमले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै निगमले आइतबार पनि सार्वजनिक बिदा थप्न सुझाव दिएको हो । बिदाका दिन सवारीसाधनको सञ्चालन कम भई तेलको खपत घट्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

त्यस्तै अत्यावश्यकबाहेक निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्न पनि निगमले प्रस्ताव गरेको छ । जोर बिजोर प्रणाली हुँदा तेलको खपत कम हुन गई निगमको घाटा र देशको ब्यापार घाटामा समेत सकारात्मक प्रभाव पर्ने निगमको बुझाइ छ । इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्क लगायतमा सरकारले प्रतिलिटर १५ रुपैयाँ घटाउनुपर्ने निगमको माग छ ।
इन्धनको मूल्य वृद्धिबाट उपभोक्तालाई बचाउन र निगमलाई जोगाउन भन्दै १० बुँदे प्रस्ताव मन्त्रालयमा पठाइएको हो । इन्धनको करसँगै एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ शुल्क मिनाहा गर्नुपर्ने र बाँकी घाटा मूल्य समायोजनबाट मिलान गर्नुपर्ने निगमले जनाएको छ । रुस र युक्रेनबीच जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १ सय डलर माथि कारोबार भइरहेको छ । जसले गर्दा निगमलाई घाटा चुलिँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *