काठमाडौँ — भाइलाई शिक्षक सेवा आयोगको परीक्षा पास गराउन आफैं प्रश्नपत्र निर्माण गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने र स्थायी नियुक्तिका लागि अन्तर्वार्तामा सिफारिस गर्ने तत्कालीन उपसचिव डिल्लीराम रिमाल आयोगको सदस्यमा नियुक्त भएका छन् ।
उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलबार नियुक्ति दिएको हो । अख्तियारले समेत परीक्षामा अनियमितता गरेको भनेर दोषी ठहर गरेका उनले बुधबार आयोगमा पदभारसमेत ग्रहण गरिसकेका छन् ।
शिक्षक सेवा आयोगको कार्यविधि २०५९ मा अनुसूची ७ मा प्रश्नपत्र निर्माणकर्ताको आफ्नो नाता पर्ने कुनै व्यक्ति परीक्षामा सम्मिलित हुने सम्भावना भएमा सोको विवरणसमेत खोली पठाउनुपर्ने व्यवस्था छ । तर रिमालले अनुसूचीविपरीत कार्य गरेकाले अख्तियारले ५ वर्षसम्म परीक्षासँग सम्बन्धित प्रश्न पत्र निर्माण, मोडरेटरको भूमिका एवं उत्तर पुस्तिका परीक्षणलगायतका कार्यहरूमा उनलाई संलग्न नगराउन शिक्षक सेवालाई निर्देशन दिएको थियो ।
अख्तियारले गरेको छानबिनमा शिक्षक सेवाको विज्ञापन नम्बर १/०६१–६२ माध्यमिक तृतीय श्रेणीको शिक्षक पदको लेखा विषयको प्रश्नपत्र निर्माण, मोडरेसन र उत्तरपुस्तिका परीक्षणमा विशेषज्ञको रुपमा रिमालको संलग्नता रहेको पुष्टि भएको थियो । उक्त परीक्षामा उनका भाइ लेखनाथ प्रतिस्पर्धी रहेका थिए भने परीक्षा पास गरेर अन्तर्वार्ताका लागि समेत सिफारिसमा परे । अख्तियारको प्रतिवेदनमा भनिएको छ, ‘लेखा विषयका सम्पूर्ण उत्तरपुस्तिकाहरु एउटै पोकामा राखी कोडिङ गरी परीक्षण गराउने कार्य भएको र ती उत्तरपुस्तिकाहरुको परीक्षणमा निज रिमालको मात्र संलग्नता रहेको भन्ने शिक्षक सेवा आयोगको भनाइ रहेबाट पनि आफ्नो भाइ नाताका लेखनाथ रिमालको उत्तर पुस्तिकासमेत निज डिल्ली रिमालले नै परीक्षण गरेको तथ्य स्पष्ट रुपमा स्थापित भएको छ ।’